Please wait ..
menu
Content
menu

अर्थतन्त्रको अप्ठ्याराहरु-१

वैदेशिक रोजगारी र अध्ययनका लागि नेपालबाट ठुलो संख्यामा युवा विदेशिँदा त्यसको असर वस्तु उपभोग मागमा परेको छ ।वस्तुको उत्पादन, त्यसको खपत, बजार प्रतिष्पर्धा नागरिकको आम्दानीसंग जोडिन्छ।आयले बचत र बचतले उपभोग बढाउँछ ।अहिलेको वस्तु मागमा देखापरेको संकुचन उपभोक्ताको आयसँग पनि जोडिएको छ।

नेपाल इन डाटा Share source March 28, 2025

वस्तु मागमा संकुचन

वैदेशिक रोजगारी र अध्ययनका लागि नेपालबाट ठुलो संख्यामा युवा विदेशिँदा त्यसको असर वस्तु उपभोग मागमा परेको छ । काठमाडौ उपत्यकाकै मुख्य बजारमा सटरहरु खाली भएको सूचना टाँस गरिएको धेरै स्थानमा देख्न सकिन्छ।केही वर्ष अघिसम्म उपभोक्ताहरुको घुँइचो देखिने मुख्य शहरी क्षेत्रहरु अहिले सुनसान प्राय देखिन्छ। यसलाई कतिपय विज्ञहरुले भने समग्र अर्थतन्त्रको चक्रीय प्रभाव मानेका छन्।वस्तुको उत्पादन, त्यसको खपत, बजार प्रतिष्पर्धा नागरिकको आम्दानीसंग जोडिन्छ।आयले बचत र बचतले उपभोग बढाउँछ ।अहिलेको वस्तु मागमा देखापरेको संकुचन उपभोक्ताको आयसँग पनि जोडिएको छ।अर्थसचिव धनश्याम उपाध्याय यसबाट पार पाउन समग्र अर्थतन्त्र बुस्ट गर्ने गरी नीजि र सरकारी क्षेत्रबाट रोजगारका अवसर, आय आर्जनमा वृद्धि, पूँजीगत खर्चमा वृद्धि, लगानीमा वृद्धि गर्दै लैजाँदा अर्थतन्त्रले सेल्फ करेक्सनको बाटो लिने विश्वास व्यक्त गर्छन्।

 बजारमा वस्तुको मागमा कमी आएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पनि स्वीकार्छन् ।उनी भन्छन् ‘अहिले बजार पूरै परिवर्तन भएको छ।बजारमा धेरै वस्तुहरूको माग घटेको छ।पहिले साना व्यवसायीले सहकारी र बैंकबाट पनि सजिलै कर्जा लिन सक्थे।अहिले सहकारीको अवस्था डामाडोल छ भने बैंकबाट पनि साना व्यवसायीहरुले सजिलै कर्जा लिन सक्दैनन्।त्यसैले धेरै सटरहरू खाली भएका छन्।कृषि उत्पादनमा पनि यही अवस्था रहेको छ।अर्कोतर्फ यस किसिमका परिस्थिति सिर्जना हुनुमा बिजिनेसको मोडल परिवर्तन पनि मुख्य कारक हो ।तेस्रो भनेको समग्रमा बजार नै घटेको पनि अवस्था छ । बजार घट्नुको पछि जनशक्ति विदेशिनेजस्ता समस्या पनि मुख्यरूपमा छन्।‘

बजारमा वस्तुको माग घट्नुमा यति मात्रै कारण होइन।कोरोना कालमा बैंकले ब्याजमा रिबेट, रिस्ट्रक्चर गर्ने नीति ल्याएको थियो।त्यसले गर्दा उद्योगी व्यवसायीले १० प्रतिशतसम्म ऋण ल्याएर आफूलाई र रोजगारीलाई थाम्ने काम गरे।त्यसपछि विश्वभर मुद्रास्फीति, आर्थिक क्षेत्रमा संकुचनले नेपालमा पनि प्रभाव पार्यो।त्यस अलवा रुस युक्रेन युद्ध, इजरायलयुद्ध लगायतका युद्धका कारण कच्चा पदार्थको मूल्य आकासियो भने आपूर्ति चक्र असन्तुलित बन्यो।यसले उत्पादन महँगो बनायो।नेपाली नागरिकको आय घट्दै जाने वस्तु तथा सेवाको मूल्य बढ्दै जाँदा पनि वस्तु मागमा चाप पर्यो।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल भन्छन् – 'नेपालमा एकातर्फ उत्पादन गर्न गाह्रो, उत्पादन गरेको सामान बजार पठाउन गाह्रो, पठाएको सामानबाट रिकभरी गर्न गाह्रो।यसले अर्थतन्त्रको चेन सप्लाई नै टुट्यो।फलस्वरुप मागमा संकुचन आयो।अलिअलि व्यापारीसँग भएको चालू पुँजी पनि सकिंदै गयो, सामान पनि सकिंदै गयो।त्यसलाई बढाउन रिकभरी भएन।'


भारतसँगको खुला सिमाना मुख्य चुनौती 

संविधानले खुलाबजार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।यो भनेको कुनै पनि बजारलाई नियन्त्रण नगरी प्राकृतिकरूपमा अघि बढ्न दिने हो।अहिले बजारमा माग भन्दा आपूर्ति धेरै हुँदा प्रतिष्पर्धा बढाएको छ।वस्तुको मूल्य पनि बजारले नै निर्धारण गर्नेगरी विस्तारै बजारको विकास हुँदै आएको छ ।यदाकदा बजारमा कार्टेलिङ देखिएपनि त्यो धेरै समय टिक्नेखालको छैन। अहिले नेपाली व्यवसाय क्षेत्रको मुख्य चुनौती भनेको भारतसँगको खुला सीमा हो।

यसमा महासंघका पूर्व अध्यक्ष गोल्छाले खुला सीमानाको समस्या एकदमै डरलाग्दो र असर गर्ने समस्या भनेका छन्।उनी थप्छन्–‘धेरै वस्तुहरू अहिले भन्सार नतिरी बजारमा ल्याएर भन्सार तिरेका सामग्रीभन्दा सस्तोमा बिक्री गर्दा वैध हिसाबले काम गर्ने व्यवसायीहरु समस्यामा छन्।बजारमा हेर्न जाने हो भने हामी यस्ता सामानहरू छ्याप्छ्याप्ती भेट्न सक्छौं।विशेष गरेर बजारमा भेटिने दैनिक उपभोग्य वस्तुहरू समेत हामी भन्सार नतिरी ल्याउने गरेको देख्छौं ।त्यसैले गर्दा पनि आन्तरिक उत्पादनलाई धेरै चुनौती थपिरहेको छ।यसरी अवैध हिसाबले कति सामानहरू आए भन्ने बारेमा यकिन तथ्यांक निकाल्न त गाह्रो छ तर बजारमा गएर हेर्ने हो भने भारतमा उत्पादित सामानहरू भन्सार नतिरी नेपालमा छ्याप्छ्याप्ती अवस्थामा देख्न सकिन्छ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले पनि नेपाली बजारमा आपूर्तिको समस्या नरहेको बताउँछन् । तर उनको विचारमा त्यो आपूर्तिमा पर्याप्तता नेपाली उत्पादन बढेर नभई आयातित वस्तुका कारण भएको हो।त्यसमा अझै खुला सिमाका कारण भारतबाट चोरीपैठारी भएर आउने सामानको पर्याप्तताले बजारमा आपूर्ति बढी देखिएपनि दीर्घकालमा त्यसले समस्या ल्याउने उपाध्यक्ष ढकालको बुझाई छ।नेपाल राष्ट्र बैंकले पनि आयातलाई निरुत्साहित गर्न नसकेको र खुला सीमा नाका भएर आउने सामानमा सरकारले नियन्त्रण गर्न नसकेको उनको आरोप छ। 


आन्तरिक उत्पादन र श्रम समस्या

युवाको विदेश पलायनले आन्तरिक उत्पादन र श्रम बजारमा असर पुर्याएको छ।पहिलेचाहिँ कम दक्ष र अर्घदक्ष जनशक्ति मात्रै बाहिर जाने प्रवृत्ति थियो।तर अहिले भने दक्ष जनशक्ति समेत बाहिर जान थाल्नुले कर्मचारी अभावको समस्या व्यवसायिक क्षेत्रले भोग्दै आएको छ।अहिले अलिकति पढेको र सीप आर्जन गरेको व्यक्ति नेपालमा बस्नै चाहँदैन।यहाँ उपलब्ध श्रममा पनि अस्वभाविक पारिश्रमिकको माग राखेर समस्या सिर्जना गर्ने प्रवृत्ति कायमै छ।एकातिर आवश्यक जनशक्ति उपलब्ध नहुनु र अर्कोतर्फ भएकै श्रमशक्ति पनि बजारमा टिक्नसक्ने अवस्थामा नरहँदा श्रम बजार सन्तुलित बन्न सकेको छैन।नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष गोल्छाले अहिले तराईका कतिपय उद्योगहरू भारतीय श्रमिकले भरिएको बताउँछन् । उनी भन्छन्–‘एउटा तथ्यांकले नेपालमा करिब १० लाख भारतीय श्रमिकहरू मात्रै रहेको देखिएको छ।यसबाहेक पनि बंगलादेशलगायत अन्य देशका श्रमिकहरू पनि कार्यरत छन्।‘ 

नेपालमा आन्तरिक उत्पादन बढाउन सकिने क्षेत्र कृषि हो।तर, कृषि उत्पादनका लागि आवश्यक ठुलो जनशक्ति वैदेशिक रोजगारीका लागि विदेशमा छ।आन्तरिक बसाइँसराइँका कारण पहाडहरु खाली भएका छन्।कृषि हुनुपर्ने खेतबारी बाँझो रहने क्रम बढेको छ ।यसले कृषि प्रधान मुलुक नै मुख्य खाद्यान्नमा परनिर्भर बन्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ।सरकारसँग पनि हाम्रो के कति आन्तरिक उत्पादन हुन्छ भन्नेबारेमा ठ्याक्कै मिल्दो तथ्याङ्क छैन।जसकारण आन्तरिक उत्पादन बढाउन लिईने नीति प्रभावकारी बन्न सकेको छैन।महासंघका उपाध्यक्ष ढकाल खुला सीमाका कारण अनौपचारिक क्षेत्रमार्फत नेपालबाट कति वस्तु भारत गइरहेको छ र भारतबाट कति वस्तु आइरहेको छ भन्ने कुराको हिसाब नरहेको बताउँछन्। सरकारसँग यकिन तथ्यांक भएको भए दिशा पहिल्याउन सहज हुने र सोही अनुरुप समाधानको उपाय निकाल्न सहज हुने उनको तर्क छ।यसका लागि सरकारले वनमा प्रयोग नभएको जमिन कृषिमा ल्याउने र वैदेशिक रोजगारीमा जानेलाई रोक्ने उपायको खोजी गर्नुपर्ने उनको सुझाव छ। 

स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारीको खाका अभियानको रुपमा चाल्नुपर्ने भएपनि राज्यबाट ती चिजमा ध्यान पुग्न नसकेको उनको भनाइ छ।उनी भन्छन्‘ राजनीतिक अस्थिरता लगायत माथि उल्लेखित कारणले आउँदा दिनमा पनि नेपालको कृषि क्षेत्रमा सुखद हुने देखिँदैन।


निर्यात –सरकारी आँकडामा बढ्यो, वास्तविकतामा छैन 

व्यवसायिक क्षेत्रले निर्यातमा संकुचन आएको बताईरहँदा गत आर्थिक वर्षको सरकारी तथ्याङ्कमा भने त्यसअघिको वर्षको तुलनामा निर्यात झण्डै ३२ प्रतिशतले बढेको पाइएको छ।यसमा अर्थसचिव उपाध्याय तथ्याङ्कले देखाएकै कुरालाई आफुहरुले विश्वास गर्नुपर्ने बताउँछन् ।भन्सार विन्दुमा आएको र गएको बस्तुहरुको तथ्यपरक विष्लेषणबाट निस्किएको तथ्याङ्कलाई अविश्वास गर्न जरुरी नरहेको उनी बताउँछन् । 

यता, यसमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाल भने फरक मत राख्छन्।अहिले सरकारी तथ्याङ्कमा निर्यात बढेको देखिएपनि त्यो हाम्रो आन्तरिक उत्पादनका कारण नभई भटमास तथा सोयविन तेल निर्यातका कारण भएको उनको भनाई छ।पहिले भारतले भटमास र सोयाबिन तेल आयात रोकेको थियो।अहिले खुलाएको छ ।उनी थप्छन्–यसले गर्दा नेपालबाट यी तेल भारततर्फ निकासी बढेको हो।नेपालका मौलिक उत्पादनहरु चिया, कफी, अलैंची, अम्रिसो, प्लाइउडजस्ता सामानले पनि  निर्यात बढाएको त छ तर भटमास र सोयविन तेलको तुलनामा निकै कम छ ।सरकारी आँकडामा नै आधारित रहेर निर्यात वृद्धिको अंशबाट सोयविन तेलको अंश झिकिदिने हो भने निर्यात वृद्धिदर ७ प्रतिशत हाराहारी मात्रै हुन आउँछ ।आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा १५ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भई १४ खर्ब ४१ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ।यस अवधिमा निर्यात–आयात अनुपात १:१०.५ रहेको छ ।


भविष्यमा अर्थतन्त्रप्रतिको आशा

प्राकृतिक स्रोतसाधन, सस्तो र सहज रुपमा श्रमको उपलब्धता, आन्तरिक बजार तथा विश्वकै धेरै जनसंख्या भएका चीन र भारत जस्ता मुलुककका कारण नेपालको आर्थिक  भविष्य सदैव संभावनायुक्त छ।व्यापार र लगानीको दृष्टिकोणबाट जलस्रोत, उर्जा, पर्यटन, पूर्वाधार प्रचुर सम्भावनाका क्षेत्र हुन् ।यहाँ विकासका क्षेत्रमा लगानीका लागि धेरै भन्दा धेरै अवसर रहेको अर्थसचिव धनश्याम उपाध्याय बताउँछन्।अहिले नेपालबाट बाहिर गएको जनशक्ति कुनै पनि समयमा फर्किन्छन् पनि ।उनीहरू फर्किँदा त्यहाँको श्रम र सीप सिकेर आएका हुन्छन्।त्यो ज्ञान र सिपलाई पनि नेपालमा राम्रोसँग उपयोग गर्न सकिए त्यसले उत्पादनका क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सक्छ। 

युवाको विदेश पलायनबाट घटेको बजार माग पर्यटन क्षेत्रको विकासबाट पूर्ति गर्न सकिने संभावना बलियो छ।यसका लागि पर्यटकको संख्या लाखमा नभइ करोड नघाउन सक्नुपर्छ ।श्रीलंकाकै कुरा गर्दा १ करोड ८० लाख जनसंख्यामध्ये ८० लाख विदेशमा छन्।तर, १ करोड पर्यटक आएका छन्।विदेशी लगानीमार्फत होटल खुलेका छन्।देशको जनसंख्या विदेशिंदा पर्यटक आएर माग धान्ने विकल्प बनेको छ।महासंघका उपाध्यक्ष ढकाल बिजुली मात्रै बेचेर पनि खान र जनता पाल्न सक्ने अवस्था नेपाल रहेको बताउँछन् । ‘छिमेकी भारत र बंगलादेश बिजुली किनिरहेका छन्।सन् २०३० सम्ममा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ।ती विद्युत परियोजना ढिलो नगरी बनाउनुपर्‍यो  उनको भनाइ छ। 

यस्तै, नेपाल शिक्षाको समेत हब बन्न सक्ने प्रचुर संभावना छ।यहाँको वातावरणदेखि अनेक कारण विदेशी विद्यार्थी आकर्षिक गर्न सकिन्छ।मेडिकल शिक्षामा अझ बढी सम्भावना देखिन्छ।यसका लागि कहिले कुन सरकारी निकायले रोक्ने, लाइसेन्स नदिने, निजी क्षेत्रको लगानी डुबाउने, सरकार आफू पनि नगर्ने वातावरणमा भने व्यापक सुधार गर्नुपर्छ।संभवनालाई वास्तविकतामा परिणत गर्न मध्यपहाडी राजमार्ग, उत्तरदक्षिण फास्ट ट्रयाकलगायतका ठूला र रणनीतिक सडकमार्गको निर्माण छिटो सक्नुपर्ने र कनेक्टिभिटीका लागि महत्त्वपूर्ण मानिएका स्थलमार्गदेखि पूर्वपश्चिम रेलमार्ग आयोजना यदि छिटो सम्पन्न गर्नुपर्ने उपाध्यक्ष ढकाल सुझाउँछन्।सूचना प्रविधिको क्षेत्र विस्तारमार्फत युवाको विदेश पलायनलाई रोक्न सकिने भएकोले सरकार त्यसतर्फ पनि अघि बढ्नुपर्ने उनी बताउँछन्।


Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More