बढ्दो बाढी पहिरोको प्रकोप–यो बर्खा झनै कठिन
असार पहिलो साताको बुधबारदेखि सातवटै प्रदेशका धेरै स्थानमा वर्षा भईरहेको छ । वर्षाका कारण पहिरो जाँदा धेरै ठाउँका राजमार्ग पूर्णरुपमा बन्द भएका छन् भने कतिपयमा एकतर्फी बाटो खुलाएर आवतजावतलाई सहज तुल्याइएको छ । अरनिको राजमार्ग धेरै दिनदेखि पूर्ण रुपमा बन्द छ । चितवनको इच्छाकामना–५ स्थित तुइनखोलामा पहिरो जाँदा मुग्लिन नारायणगढ सडक खण्डमा अवरोध हुँदै आएको छ । अहिले एकतर्फी सडक सुचारु गरिएको छ । नवलपरासीको विनयी त्रिवेणाी गाउँपालिकास्थित विनयी खोलामा बाढी आउँदा पूर्व–पश्चिम राजमार्ग ठप्प छ । बिहीबार राती विनयी खोलाले यात्रुबाहक बस बगाएको छ । बसका यात्रुको भने सकुसल उद्धार गरिएको छ । बेनी जोमसोम सडकखण्ड अझै पूर्ण रुपमा बन्द छ । काभ्रेको रोशी खोलाले दुःख दिन थालिसकेको छ । यी दृष्टान्तले यो वर्षको मनसुन सुरु भएयता बाढी पहिरोले ठूलो क्षति नगरेको भएपनि यो बर्खा सहज छैन भन्ने पर्याप्त संकेत गरेको छ । मनसुन सुरु हुनु एक महिना अगावै बैशाख अन्तिम साता काभ्रेको रोशी खोलामा आएको बाढी र जेठ पहिलो साता हुम्लाको तिलगाउँमा आएको लेदोसहितको बाढीले यो बर्खा हाम्रा लागि त्यति सहज छैन भन्ने संकेत गरिसकेको थियो । जल तथा मौसम विज्ञान विभागले समेत यस मनसुनमा सरदरभन्दा बढी वर्षा हुने संभावना ६५ प्रतिशतभन्दा बढी रहेको तथ्याङ्क सार्वजनिक गरिसकेको छ । आँखै अघि जोखिमको संभावना देखिँदादेखिँदै पनि सरोकारवाला निकायबाट जोखिमबाट क्षति न्युन गर्नेतर्फ आवश्यक पहल थाल्न ढिलाई भइरहेको छ ।
बैशाखमै बाढी
यो बर्खा झनै कठिन
जल तथा मौसम विज्ञान विभागले मनसुन ऋतुमा सामान्य भन्दा बढी पानी पर्ने अनुमान गरेको छ । विभागले जेठ १८ देखि असोज १४ गतेसम्म चार महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने संभावना औंल्याएको हो । यस हिसाबले पनि अघिल्लो सालको वर्षायाममा जस्तै यस वर्ष पनि बाढी पहिरोको जोखिम उच्च रहेको अनुमान गर्न सकिन्छ । विभागको अध्ययन अनुसार कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनीको उत्तरी भू–भाग र गण्डकीको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने संभावना ६५ प्रतिशतसम्म छ । यस्तै, सुदूरपश्चिमको दक्षिणी भू–भाग, लुम्बिनीको पश्चिमी र गण्डकीको उत्तर पूर्वी, बागमती र कोसीको पूर्वी तथा दक्षिणी भू–भागमा सरदरभन्दा बढी वर्षाहुने संभावना ५५ प्रतिशत छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनजन्य विपद्बाट करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जना प्रभावित हुने आँकलन गरेको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १ लाख १९ हजार ८३० घरपरिवारका ५ लाख २३ हजार ६५६ जना प्रभावित हुने आँकलन गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा १ लाख २७ हजार ३०८ जना बाढी पहिरोका घटनाबाट प्रभावित हुने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको आँकलन छ ।
चित्र १. प्रदेशगत रुपमा बाढी पहिरोका घटनाबाट प्रभावित हुने आँकलन गरिएको जनसंख्या
श्रोतः मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२, राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण
विगतको विकराल रुप
विगत एक दशकको अवधिमा मनसुनजन्य विपद्का घटनाबाट २ हजार ३१७ जनाको मृत्यु भएको छ । दुई हजार ६४९ जना घाइते भएका छन् भने यस अवधिमा ४१९ जना बेपत्ता भएका छन् । कुल ५६ हजार ७०५ घरपरिवार प्रभावित बनेका छन् । यस अवधिमा सबैभन्दा धेरै १ हजार २९६ जनाले पहिरोमा परी ज्यान गुमाएका छन् भने बाढीबाट ५३९ जनाको मृत्यु भएको छ । विगत एक दशकको अवधिमा बाढी पहिरोबाट ३६ हजार ४७९ घरमा क्षती पुगेको छ । यस अवधिमा पनि वि.स २०७८ र २०८१ सालमा बाढी पहिरोबाट धेरै जनधनको क्षति भयो । यी दुई वटा वर्षमा वार्षिक औसतभन्दा निकै बढी वर्षा भयो । वि.स २०७८ सालमा वार्षिक औसत १३५८ मिलिमिटर वर्षा हुनुपर्नेमा १६०९ मिलिलिटर वर्षा भयो । उक्त साल बाढी पहिरोमा परी २५८ जनाको ज्यान गयो भने ६५ जना बेपत्ता रहे । यस्तै, वि.स. २०८१ सालमा पनि औसतभन्दा धेरै १६९१.३ मिलिमिटर वर्षा भयो । यस वर्ष बाढी पहिरोबाट ४९५ जनाले ज्यान गुमाए भने ६६ जना बेपत्ता रहे । २०८१ मा बाढी पहिरोबाट ८ हजार ८८८ घरमा पूर्ण रुपमा क्षति पुगेको थियो ।
सरकारको सुस्त तयारी
गत वर्ष राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोसी प्रदेशमा पहिरोको उच्च जोखिम रहेको र कतिपय बस्ति स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको औंल्याएको थियो । समयमै यसमा सरकार गम्भिर नबन्दा वर्षा सुरु भएलगत्तै कोसीले बाढी पहिरोबाट मानविय क्षति बेहोर्नुपर्यो । गत असोजमा जल तथा मौसम विज्ञान विभागले स्थान नै तोकेर भारी वर्षाको संभावना सहित सचेत रहन आग्रह गरेको थियो ।यसमा पनि सरकारी तवरबाट खासै चासो र तयारी थालिएन । फलस्वरुप नागढुंगामा ठूलो मानविय क्षति भयो भने काभ्रेपलाञ्चोक, सिन्धुली लगायत कोसी नदी आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति हुनपुग्यो । देशले एक वर्षमा झण्डै ४६ अर्ब रुपैयाँ बराबरको भौति क्षति बेहोर्नुपर्यो । यसपाली पनि जल तथा मौसम विज्ञान विभागले प्रदेश नै तोकेर सरदरभन्दा बढी वर्षा हुने संभावना ६५ प्रतिशत भन्दा बढी रहेको आँकलन गरेको छ । यो आँकलन सत्य ठहरिएमा वर्षाका कारण बाढी र पहिरोबाट कर्णाली, लुम्बिनी र गण्डकीले ठूलो मात्रामा क्षति बेहोर्नुपर्नेछ ।
सुस्त गतिका संयन्त्र
सरकारले प्राकृतिक प्रकोपबाट उत्पन्न हुने जोखिम न्युनिकरणका लागि कानुन नै बनाएर संयन्त्र निर्माण गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहनेगरी राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरिएको छ । क्षति न्युनीकरणका लागि गृह मन्त्रालय मातहत राष्ट्रिय कार्य संचालन केन्द्र छ । संघ, प्रदेश र स्थानीय सरकार अन्तरगत रहनेगरी विपद् व्यवस्थापन कोष संचालनमा ल्याइएको छ । त्यस अलवा प्रधानमन्त्री कार्यालय मातहत रहनेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष छ । यद्यपी, मनसुनजन्य प्रकोपका घटना बढ्ने आँकलन भईरहँदा यी संयन्त्रको तदारुकता भने सुस्त छ । भविष्यमा आउनसक्ने जोखिम न्युनीकरणका उपायतर्फ तत्कालै कदम चाल्नुपर्ने आवश्यकता भएपनि सम्बन्धित निकाय तात्न सकेका छैनन् । घटना घटिसकेपछि उद्धारमा मात्रै तदारुकता देखाउनुको सट्ट घटना घट्नुपूर्व नै देखाइने सक्रियताले मानविय र भौतिक क्षति कम गर्न सकिन्छ । प्रकोपबाट हुने क्षतिको लागि बजेटमै श्रोत सुनिश्चित गरी अघि बढ्नु बुद्धिमत्तापूर्ण हुनेछ ।
बाढी पहिरो बढ्नुका कारण
- नदीजन्य श्रोतको अवैध उत्खन्नन्
- जथाभावी खनिएका ग्रामीण सडक
- अव्यवस्थित बसोबास
- नदी किनार केन्द्रित बस्ति बिस्तार
- नदी नियन्त्रणमा सरकारी उदासिनता
बाढी पहिरोबाट हुने असर
- निजी सम्पत्ति गुम्दा नागरिक गरिबीतर्फ धकेलिने
- बसाई सराईको क्रम बढ्ने, कतै घना बस्ति र कतै बस्तिबिहिनताको अवस्था आउने
- वालवालिकाको शिक्षा, स्वास्थ्य र विकासमा दीर्घकालीन असर पुग्ने
- सम्पत्ति गुमाउँदा दैनिकी चलाउन विदेशिनुपर्ने बाध्यता आउने
- मनोवैज्ञानिक त्रासका कारण आत्मविश्वासमा कमी आउने
- सडक, पुल, खानेपानी, विद्युत लगायतका पूर्वाधारमा क्षति हुँदा नागरिक आधारभूत सेवाबाट बंचित हुनुपर्ने
- विकास पछाडी धकेलिँदै जाने
- विभिन्न संक्रमणजन्य रोगको फैलावटको संभावना बढ्ने